सिरोहियालाई अनुसन्धानका लागि तीन दिन म्याद थप

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले म्याद थप गरेको छ । जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले आज दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएका हुन । सहकारी ठगीको समाचार दबाउन कार्यकक्षबाट गिरफ्तार गरिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको थियो । प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो । उहाँलाई स्थलमार्गबाट आज बिहान पौने ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा पु¥याइएको हो । आफूविरुद्ध समाचार आएपछि रुष्ट गृहमन्त्री लामिछानेकै निर्देशनमा प्रहरीले नागरिकतासम्बन्धी अनुसन्धानका लागि भन्दै गिरफ्तार गरेको सिरोहियाको आरोप छ । प्रहरीले नागरिकतासम्बन्धी उजुरी परेको भन्दै गिरफ्तार गरे पनि अध्यक्ष सिरोहियाले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन । 
 

प्रतिक्रिया