कामी रिता शेर्पाको नयाँ कीर्तिमान, तिसौं पटक सर्वोच्च शिखरको सफल आरोहण
कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामी रिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका छन् । आज बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथाको ३० औँ पटक आरोहण गरेका हुन । शेर्पाले सगरमाथाको ३० औँ पटक सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका छन् । फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उहाँले विदेशी आरोही लिएर आज विहान ७ बजेर ४९ बजे चुचुरोमा शेर्पाले पाइला टेकेका हुन । यसै महिना मात्र शेर्पाले २९ औँ पटक सगरमाथाको आरोहण गरेका थिए । सोलुखुम्बु थामेका ५४ वर्षीया कामी रिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामी रिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । यस वर्षको वसन्त याममा अनुमति लिएकामध्ये ७० प्रतिशत आरोहीले सगरमाथाको आरोहण गरेका छन । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयकाका अनुसार यस याममा आरोही र शेर्पा सहयोगी सहित ४ सय ६० जनाले सगरमाथा आरोहण गरेका हुन । हालसम्म करीब ७० प्रतिशत आरोहीले सगरमाथा आरोहण पूरा गरेका छन । आगामी तीन दिनमा आरोहणका लागि मौसम उपयुक्त भएकाले बाँकी आरोहीले आरोहण सक्ने अनुमान छ । आउँदो शनिबारसम्म मौसम अनुकूल भएकाले सोही समयभित्र आरोहण गरिसक्न पनि विभागको फिल्ड कार्यालयले सबै आरोहीलाई सूचित गरेको छ । यस्तै, यस याममा मंगोलियाका दुई जना आरोहीको मृत्यु भएको विभागले जनाएको छ । आरोहणका क्रममा घाइते भएका ५० जनाभन्दा बढी आरोहीलाई सगरमाथाको विभिन्न क्षेत्रबाट उद्धार गरिएको छ । यस वर्षको वसन्त आरोहण गत वैशाख २८ गतेदेखि सुरु भएको थियो । विभागको पर्वतारोहण शाखाका अनुसार यो सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका थिए ।
प्रतिक्रिया