झापामा हात्ती नियन्त्रण गर्न साइरन जडित ड्रोनको प्रयोग गरिने

चोरी तस्करी र मानव–हात्ती द्वन्द्व न्यूनीकरणको प्रयास

मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ ।  ड्रोनको प्रयोगले जंगली हात्तीको अवस्था अनुगमन गर्न र गाउँ पसेको स्थितिमा हात्तीलाई सुरक्षित रुपले जंगलतर्फ फर्काउन सहयोग पु¥याउने अपेक्षा सहित ड्रोनको प्रयोग गर्न लागिएको वन कार्यालयको भनाई छ । कार्यालयले  १० लाख खर्चेर ड्रोन खरिद गरेको जनाएको छ । 
दुई किलोमिटर वरपरको दृश्य कैद गर्न सक्ने गरी उक्त ड्रोनमा शक्तिशाली क्यामेरा समेत जडान गरिएको छ । ड्रोनको तौल साढे सात किलोग्राम रहेको छ । साथै जंगल क्षेत्रमा बढिरहेको बन्यजन्यु चोरी तस्करी नियन्त्रणमा समेत ड्रोन उपयोगी हुने बन कार्यालयको आशा छ । 
ड्रोनलाई मोडिफाई गरेर नाइटभिजन बत्ती र साइरन समेत जडान गरिएको छ । यसलाई रात्रिकालीन अवस्थामा पनि प्रयोग गर्न सकिने र ड्रोनले बजाउने साइरनको आवाज सुनेर जंगली हात्ती धपाउन सजिलो हुने बताइएको छ । झापामा हात्तीबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि विद्युतीय घेराबेरा, सुरुङ, टुङ, पटाका लगायतका विभिन्न उपायहरु प्रयोग भइसकेको छ ।
 

प्रतिक्रिया