पशुपतिनाथको भेटी चोरीमा कोषका पदाधिकारी नै संलग्न
भेटी लुकाएर लैजाने आठ जना गौशाला प्रहरीको नियन्त्रणमा
पशुपतिनाथको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ । कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सातसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म लाने गरेको बयान प्रहरीसमक्ष दिएका छन् । पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । भेटी सङ्कलनको जिम्मेवारी पक्राउ परेका नवराज ढोडारीले हेर्दै आएका थिए । पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको कोषले जनाएको छ । कोषले पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त गौशालाको जिम्मा लगाएको छ । सिटिभिटीको निगरानीका क्रममा सोमबार चोरी कार्यमा संलग्नको पहिचान भएपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको कोषको भनाइ छ । पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी सङ्कलन हुने गरेको छ ।
प्रतिक्रिया