पाल्पाका ९ हजार बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाइने
पाल्पाका नौँ हजार बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाइने भएको छ । २०७२ जेठ महिनादेखि २०७५ असोज महिनासम्म खोप अभावका कारण खोप लगाउन छुटेका नौँ हजार ४ सय ६७ जना बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाउन लागिएको हो । पत्रकारसँगको अन्र्तक्रियामा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्रकुमार गिरीले विगतमा पोलियो बिरुद्धको खोप लगाउन छुट भएका बालबालिकाका लागि पोलियो भाइरस फैलन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्नु जरुरी रहेको बताए । छुटेका बालबालिकालाई जेठ १३ गतेदेखि २६ गतेसम्म पोलियो बिरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । विद्यालयभित्रै खोप केन्द्र बनाएर खोप लगाउने तयारी गरिएको छ । पहिलो चरणमा जेठ १३ गतेदेखि तानसेन, रिव्दीकोट, बगनासकाली, रैनादेवी छहरा, तिनाउ र माथागढी गाउँपालिकामा खोप लगाइनेछ । यस्तै दोस्रो चरणमा जेठ २१ गतेदेखि रामपुर, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । पोलियो बिरुद्धको खोप लगाउनका लागि विभिन्न विद्यालयमा ४ सय ४८ खोप केन्द्र र ८१ वटा स्वास्थ्य संस्थामा केन्द्र तोकिएको छ । पोलियो बिरुद्धको खोप अभियान प्रभावकारी बनाउन ५ सय २७ जना स्वास्थ्यकर्मी र ५ सय २९ जना स्वयम्सेवक परिचालन हुने भएका छन ।।
प्रतिक्रिया