विकट चेपाङबस्तीमा पुग्यो बिजुली, प्राधिकरणद्वारा निःशुल्क मिटर वितरण

चेपाङ समुदायको बाहुल्य रहेको धादिङ र चितवनका विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युतीकरण गरिएको हो । चितवनको इच्छाकामना गाउँपालिका–१ कालिङमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गर्दै चेपाङ समुदायलाई निःशुल्क मिटर पनि वितरण गरेका हुन । सो क्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले उपलब्ध गराएको बजेट, प्राधिकरणले कमाएको नाफा र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमार्फत सहुलियतपूर्ण ऋण लिएर देशलाई पूर्ण विद्युतीकरण गर्ने कार्य जानकारी दिए । 
कार्यकारी निर्देशक घिसिङले विद्युत् खपत बढाउन विद्युतीय चुलोको प्रयोग गरी ग्याँसलाई विस्थापन गर्न उनले आग्रह गरे । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकालाई विभिन्न स्रोतबाट एक वर्षमा प्राप्त हुने बजेटभन्दा बढी रकम प्राधिकरणले इच्छाकामनाको विद्युतीकरणमा विनियोजन गरी काम अगाडि बढाएकाले पूर्ण रूपमा विद्युतीकरण सम्भव भएको जानकारी दिए । 
नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । प्राधिकरणले विद्युतको पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन ।प्राधिकरणले इच्छाकामना गाउँपालिकाका ७ वटा वडाहरूको विद्युतीकरणका चालु आर्थिक वर्षमा मात्र १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ । 

प्रतिक्रिया