काँग्रेसले संसदमा गृहमन्त्री लामिछाने बोल्दा अवरोध नगर्ने

नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बोल्दा अवरोध नगर्ने भएको छ । आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीको रकम अपचलन सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति नबनी सरकारी काममा प्रवेश गरेको खण्डमा भने संसद अवरुद्ध हुने बताएका हुन । संसदभित्र सत्तापक्ष र प्रतिपक्ष दलका बीचमा संसदीय छानबिन बनाएर जाने भन्नेकुरामा सहमति भइसकेको र त्यसलाई काँग्रेसले सकारात्मक रुपमा लिएको उनको भनाइ छ । 
समितिको कार्यविधि बनाउने कुरामा पनि दलहरुका बीचमा छलफल भएर कुराकानी भइरहेको पनि उनले जानकारी दिए । विपक्षमा रहेका दलहरुले छानबिन समिति बनाउने कुरालाई सकारात्मक रुपमा लिएका छन । संसदमा आज भएको प्रतिपक्ष दलको बैठकले पनि गृहमन्त्रीलाई बोल्न अवरोध नगर्ने निर्णय गरेको छ । कार्यविधि बनाइसकेपछि सरकारी बिजनेसमा प्रवेश गर्न सकिने विपक्षी दलको निस्कर्ष छ । 
 

प्रतिक्रिया