गृहमन्त्री बोल्न उठेपछि प्रतिनिधि सभामा सांसदबीच धकेलाधकेल

सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षी सांसदहरूबीच धकेलाधकेल भएको छ।

बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए। उनीहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेका थिए।

सभामुख घिमिरेले कांग्रेस र अन्य प्रतिपक्षी दलहरूको अवरोधबीच बैठक अघि बढाएका थिए। राष्ट्रपति कार्यालयबाट प्राप्त दुइटा पत्र उनले नाराबाजीबीच पढेका थिए।

त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेले बोल्न समय माग गरेकोले समय दिएको जानकारी गराएका थिए। गृहमन्त्री लामिछाने बसेको ठाउँबाट उठेका थिए। गृहमन्त्री उठेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरू पनि उठेका थिए। 


त्यसक्रममा एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति धनराज गुरूङबीच कुराकानी भएको थियो। सोही क्रममा कांग्रेस र एमाले सांसदहरू धकेलाधकेल गरेका हुन्।

सदन मुठभेडतर्फ अघि बढेपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न भनेका थिए। 

साथै सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। बैठक स्थगित भइसकेपछि पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूबीच धकेलाधकेल र विवाद भएको थियो।

प्रतिक्रिया