मेयर कप महिला क्रिकेटमा एपिएफको लगातार चौथो जीत

साविक विजेता नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि जारी राखेको छ । फाइनलमा स्थान बनाइसकेको एपिएफले लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध तीन विकेटको जित निकाल्यो ।
जितसँगै शीर्ष स्थानको एपिएफले चार खेलमा आठ अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको सुदूरपश्चिमको तीन खेलबाट चार अंक छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिम प्रदेशविरुद्ध तीन विकेटको जित निकाल्यो ।सुदुरपश्मिले प्रस्तुत गरेको ११२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि ममता चौधरीले अविजित ३२, रोमा थापले २३, सरिता मगरले १९ र राजमति ऐरीले ११ रन बनाए । सुदूरपश्चिमका लागि लक्ष्मी साउदले दुई तथा जनाकी थापा, कविता जोशी, ऋतु कनोजिया र कप्तान विन्दु रावलले समान एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले ३६, कविता जोशीले अविजित २९ र रुवी पोदारले २९ रन बनाए । एपिएफका लागि रेखा रावल र इन्दु बर्माले समान एक विकेट लिए ।

प्रतिक्रिया