मिडिया एलाइन्सका प्रतिनिधिद्धारा प्रधानमन्त्री र संचारमन्त्रीसंग भेट

मूलधारका व्यावसायिक मिडियाको छाता संगठन मिडिया एलायन्स नेपालको एक प्रतिनिधि–मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा समक्ष भेट गर्दै मिडिया हाउसले अहिले सामना गरिरहेको आर्थिक संकटको अवस्था’बारे जानकारी गराएको छ  । दुवै भेटमा मिडिया उद्योग बचाउन सरकारसँग केही सहुलियतको व्यवस्था गर्न आग्रह गरिएको छ । ज्ञापनपत्रमा केही वर्षदेखि आएका विनाशकारी महामारी एवं त्यसपछिको विश्वव्यापी आर्थिक संकटका कारण मिडिया उद्योग धराशायी अवस्थामा पुगेको बताउँदै मिडिया उद्योगले हाल भोगिरहेको संकट समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । भेटमा प्रधानमन्त्री दाहालले मागपत्र बुझ्दै सुस्त अर्थतन्त्रका कारण अन्य उद्योगमा जस्तै मिडिया क्षेत्रमा पनि प्रभाव परेकाले सरकारले सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले मिडिया क्षेत्रको समग्र समस्या सम्बोधन गर्नेगरी आफूले पहल लिएको र त्यहीअनुसार बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् । पत्रमा विज्ञापन, सहुलियतपूर्ण कर्जा र नियमन सम्बन्धमा सरकारलाई तत्काल केही व्यवस्था गर्न आग्रह गरिएको हो ।बिमा कम्पनी, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थालगायतका क्षेत्रबाट हुने विज्ञापनको सीमा निर्धारण गरी निश्चित रकमभन्दा बढीको विज्ञापन गर्न नपाउने हालको व्यवस्था परिवर्तन गरी सञ्चार क्षेत्रमा जाने विज्ञापनमा सीमा हटाउने व्यवस्था गर्न आग्रह गरिएको छ । त्यस्तै, आमसञ्चार माध्यममा मदिराजन्य पदार्थको विज्ञापन गर्न अहिले रोक लगाएकोमा यसलाई पनि खुला गर्न माग गरिएको छ ।  कम्तीमा ३ प्रतिशत रकम विज्ञापनमा खर्च गर्नुपर्ने, ३ प्रतिशत ब्याजदरमा १० करोड रुपैयाँसम्म थप सहुलियत ऋण, मूल्य अभिवृद्धि कर भ्याट समयमै नबुझाएका कारण लाग्ने ब्याज तथा जरिमानालाई मिनाह समेत एलाइन्सले माग गरेको छ । मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार पत्नीशोकमा भएका कारण संस्थाका महासचिव दिरेकलाल श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री दाहाल र सञ्चारमन्त्री शर्मा भेट्न टोली गएको हो ।। 

प्रतिक्रिया