पाँचौ कार्यकालमा निर्वाचित भएपछि पुटिन चीन भ्रमणमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि बेइजिङ पुगेका छन ।  पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा आज चीन पुगेका हुन । रुस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ औँ वार्षिकोत्सव पारेर दुई नेताबीच आज भेटवार्ता हुनेछ । द्विपक्षीय वार्ता व्यापार र आर्थिक सहयोगमा केन्द्रित हुने बताइएको छ । भेटमा पुटिन र सीले सबैभन्दा अत्यावश्यक राजनीतिक र क्षेत्रीय मुद्दाहरूमा पनि कुराकानी गर्नेछन् । चीनको राजकीय भ्रमणको दोस्रो चरण हेइलोङजियाङ प्रान्तको राजधानी र सबैभन्दा ठुलो सहर हार्बिनमा हुनेछ । त्यहाँ पुटिनले ८औं रुसी–चिनियाँ एक्स्पो र चौथो रुस–चीन फोरम अन रिजनल कोअपरेसनको उद्घाटन समारोहमा भाग लिने कार्यतालिका रहेको बताइएको छ । रुसी राष्ट्रपतिले बेइजिङ र हार्बिनको भ्रमण गर्ने कार्यक्रम छ । बेइजिङमा पुटिनले समकक्षी सीसँग भेट गर्नेछन् । दुई राष्ट्रपतिले वान टु वान वार्ता गर्ने बताइएको छ । रुसी राष्ट्रपतिसहित पाँच उपप्रधानमन्त्री, आर्थिक, कूटनीतिक र सुरक्षा निकायका प्रमुख, सैन्य–प्राविधिक सहयोगका लागि संघीय सेवा, रुसी रेलवे, रोसाटोम र रोसकोसमोसका प्रमुख चीन भ्रमणमा छन । सात महिनाको अवधिमा रुसी राष्ट्रपतिको  यो दोस्रो चीन भ्रमण हो । रुसले युक्रेनमाथि सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेपछि दुई नेताबीच तीन पटक भेट भइसकेको छ । युक्रेन युद्ध सुरु भएपछि बेइजिङ मस्कोको महत्वपूर्ण साझेदार बनेको छ ।
 

प्रतिक्रिया