ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफको लगातार तेस्रो जित

साविक विजेता नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि जारी राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज एपिएफले ललितपुर मेयर एघार विरुद्ध आठ विकेटको सहज जित निकालेको हो । जितसँगै एपिएफले तीन खेलमा ६ जोडेको छ । पराजित ललितपुरको समान खेलबाट दुई अंक छ । ललितपुरले प्रस्तुत गरेको ७१ रनको लक्ष्य एपिएफले ९.४ ओभरमा दुई विकेट गुमाउँदै भेट्टाएको हो । एपिएफका लागि कप्तान सीता रानामगरले ३५ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरिन् । यसैगरी ममता चौधरीले १६ रन बनाइन् । पहिलो विकेटका लागि सीता र पूजाले ७० रनको साझेदारी गरे । ललितपुरका लागि दुवै विकेट किर्तिका मरासिनीले लिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा पाँच जिकेट गुमाउँदै ७० रनको योगफल तयार पारेको थियो । ललितपुरका लागि पूजा महतोले २४ र ज्योत्निका मरासिनीले २१ रन बनाउँदा उन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफका लागि रेखा रावल र सीता रानामगरले समान एक विकेट लिए । 

प्रतिक्रिया