सरकारले देशभरका पाँच लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने

सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको दुवै सदनमा प्रश्तुत गरेको कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने उल्लेख गरिएको हो । प्रमुख खाद्यन्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरुको पुनर्संरचना गरिने समेत सरकारले जनाएको छ । राष्ट्रपति पौडेलले कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिने नीति पनि सरकारले लिएको बताए । 
राष्ट्रपति पौडेलले कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बाँझो तथा नदी उकास जग्गाको सदुपयोग एवं चक्लाबन्दी गरिने बताए । त्यस्तै सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकार बीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने जनाएको हो । सरकारले ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पु¥याउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने जनाएको छ । सरकारले मालपोत र नापीसम्बन्धी आधारभुत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने जनाएको छ । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । निजी क्षेत्रसँगको सहकार्यमा पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने घोषणा पनि सरकारले गरेको छ ।

प्रतिक्रिया