सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले शुत्रबार सवा १० बजेका लागि बैठक आह्वान गरेको हो । मुख्य समर्थक दल एमाले प्रदेश संसदीय दलले विश्वासको मत दिने नदिने निर्णय नगर्दा सोडारीको सरकार संकटमा रहेको छ ।  एमालेले भने अझै विश्वासको मत दिने नदिने निर्णय भएको छैन । सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रालय भागबन्डा लगायत विषयमा अहिलेसम्म कुनै छलफल नभएको एमालेको भनाइ छ । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनु भएका एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको विवादले पनि प्रदेश सरकार समस्यामा छ । संसदीय दलको नेताबाट हटाइएपछि माओवादीका खगराज भट्टसहतिका केही प्रदेशसभा सदस्य असन्तुष्ट छन । नागरिक उन्मुक्तिभित्रको विवाद पनि समाधान नहुँदा नाउपाका ५ प्रदेशसभा सदस्य सरकारको विपक्षमा छन् भने २ जना सरकारमा सहभागी भएका छन्  ।

प्रतिक्रिया