कोशीका मुख्यमन्त्री कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन । नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतलाई मुख्यमन्त्री बन्दा एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ जना प्रदेश सांसदले समर्थन गरेका थिए । एक जना मात्रै सांसद रहेको जनता समाजवादी पार्टी जसपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । हिक्मतले मुख्यमन्त्रीमा दाबी पेस गर्दा जसपाले साथ दिएको थिएन ।  मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले आजका लागि प्रदेशसभाको पाँचौ तथा बर्खे अधिवेशन आह्वान गरेका थिए । बजेट अधिवेशनको पहिलो बैठकबाटै मुख्यमन्त्री हिक्मतले विश्वासको मत लिने भएका हुन । विश्वासको मत लिनेसम्बन्धी सूचना शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।  हिक्मत संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन । मुख्यमन्त्रीमा एमाले र माओवादीका ५२ जना सांसदले समर्थन गरेका थिए । अहिले जसपाले पनि समर्थन गरेको छ ।  कोशीको ९३ सदस्यीय संसदमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन।

प्रतिक्रिया