नीति कार्यक्रम अघि नै संसदको गतिरोध अन्त्यमा सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री

समग्र सहकारीकै समस्यामाथि छानबिनको प्रस्ताव

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले आजपनि पहल गर्ने भएका छन । भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघिसम्म कांग्रेससँग सहमति हुने सरकारको विश्वास छ । भोलि राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको विषयमा अनुसन्धान गर्न संसदीय छानविन समिति बनाउनैपर्ने अडानसहित कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ । गृहमन्त्री लामिछानेलाई मात्र लक्षित नगरी समग्र सहकारीकै समस्यामाथि छानबिन गर्न समिति गठनको प्रस्ताव प्रधानमन्त्री दाहालले आइतबार नै कांग्रेस सामु राखेका छन । सोही प्रस्तावमा आजसम्म सहमति जुटने उनको विश्वास छ । प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरूसँग तत्काल समिति बनाउने विषयमा सहमति नभए पनि राष्ट्रपतिले वाचन गर्ने बजेटको नीति तथा कार्यक्रमका दिन संसद् बैठक अवरोध नगरिदिन आग्रह समेत कांग्रेससँग गरेका छन । 

प्रतिक्रिया