अगामी आर्थिक वर्षदेखि किसानलाई परिचयपत्र वितरण गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अगामी आर्थिक वर्षदेखि किसानलाई परिचयपत्र वितरण गर्ने भएको छ । १६ लाखभन्दा बढी किसान सूचीकृत भइसकेका र तिनलाई वर्गीकरण गरी परिचयपत्र वितरणको तयारी गरिएको हो । किसानलाई आकर्षित गर्न पनि परिचयपत्र वितरणको काम सुरु गरिहाल्नु पर्छ भनी एकखालको समझदारी बनेको र अगामी आवदेखि सुरु गरिने मन्त्रालयको भनाइ छ । कृषि मन्त्रालयका हालसम्म १६ लाख ५५ हजार किसान घरपरिवार सूचीकृत भइसकेका छन् । आवको अन्तिमसम्म १८ लाख किसान घरपरिवार सूचीकृत गर्ने लक्ष्य राखिएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ४१ लाख घरधुरी किसान छन् । त्यसलाई आधार मान्ने हो भने अगामी आवमा २३ हजार घरधुरी किसानलाई अझै सूचीकरण गर्नुपर्ने देखिन्छ । हाल दैनिक तीन हजारका दरले किसान सूचीकृत भइरहेका छन् । किसान सूचीकरणका लागि एउटा वेबसाइट निर्माण गरिएको छ । वेबसाइटमा किसानको नाम, उसले गर्ने खेतीको क्षेत्र, किसानको सङ्ख्या, परिवारको सदस्य सङ्ख्या, उमेर, उत्पादन, वार्षिक आम्दानी तथा खर्च, बजारसँग पहुँच, सरकार तथा अन्य क्षेत्रबाट पाउने सुविधा, जमिनको किसिम, सिँचाइको उपलब्धता, सिञ्चित क्षेत्रफल, जग्गाको स्वामित्व, पशुपन्छी पालन तथा बाली उत्पादन विवरण, कृषि व्यावसायी, फर्म, उद्यमीलगायतका विषयको विवरण सङ्कलन गरेर राख्ने गरिएको छ । 
 

प्रतिक्रिया