नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरियो

सरकारलाई दिएको समर्थन पनि फिर्ता

मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आज मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् । साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए । माओवादी केन्द्रले मधेस सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश सरकारबाट नेकपा एमालेले पनि बाहिरिने तयारी गरेको छ । मधेशमा जसपा नेपालका यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने तयारी एमाले र माओवादीले गरेका छन् । मधेशमा जसपा नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकार बाहिर छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन् । 


 

प्रतिक्रिया