ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुवात
ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सुदूरपश्चिमले ललितपुर मेयर ११ लाई १६ डकवर्थ लुइस पद्धति डिएलएस का आधारमा १६ रनले पराजित गर्यो । जितसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ । पराजित ललितपुरको पनि दुई खेलबाट दुई अंक नै छ । ललितपुरले पहिलो खेलमा बागमती प्रदेशलाई सात विकेटले हराएको थियो । वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा ६२ रनको लक्ष्य पाएको ललितपुरले ११ ओभर नै ब्याटिङ गरे पनि दुई विकेट गुमाउँदै ४२ रन मात्र बनाउन सक्यो । ललितपुरका लागि कप्तान पूजा महतोले अविजित १४, सरस्वती जिएमले अविजित १२ र लक्ष्मी चौधरीले १० रन बनाए । सुदूरपश्चिमका लागि जानकी थापा र ऋतु कनोजियाले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२२ रनको योगफल तयार पारेको थियो ।सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले ३०, कविता जोशीले अविजित २५, लक्ष्मी साउदले १५, सम्झना खड्काले १३ र रेवती धामीले १० रन बनाए ।ललितपुरका लागि आरति महतो र किर्तिका मरासिनीले समान दुई तथा पूजा महतो र तिर्सना बुढाथोकीले समान एक विकेट लिए । आजै नेपाल एपिएफ क्लब र कोशी प्रदेश भिड्ने तालिका रहेको छ । प्रतियोगितामा ५ टोलीले सिंगल राउण्ड रोबिनमा खेल्नेछन् । शीर्ष २ टोलीले अर्को शनिबार हुने फाइनलमा खेल्नेछन् ।
प्रतिक्रिया