आज अप्रिल २२, अन्तर्राष्ट्रिय पृथ्वी दिवस
अन्तर्राष्ट्रिय पृथ्वी दिवस आज नेपाल सहित विश्वभर मनाइँदै छ । प्रत्येक वर्ष अप्रिल २२ तारिखमा यो दिवस मनाइन्छ । सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो । यो दिवस नेपालसहित विश्वका करिब २०० राष्ट्रमा मनाइँदै छ । दिवसले पृथ्वीलाई जोगाउनुपर्ने, भविष्यका लागि पृथ्वीमा भएको प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ । पृथ्वी बर्सेनी तात्दै गइरहेको छ । सन् १८८० पछि प्रत्येक दशकमा ०।८ डिग्रीका दरले तापक्रम वृद्धि भइरहेको छ । वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण तापक्रम बढेको विज्ञ बताउँछन् । मानव क्रियाकलापले नै पृथ्वीको अस्तित्व संकटमा पर्दा यस्ता कार्यको न्यूनीकरणमा विश्वको ध्यान पर्याप्त मात्रामा जान नसकेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया