आज चैत्र शुक्ल त्रयोदशी, २६२३ औं महावीर जयन्ती
आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँको क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए । महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए । उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो । जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यसै युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाएका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । उनीहरुले महावीरलाई भगवानको रुपमा पुज्ने गर्दछन् । यसैबीच महावीर जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिदै महावीरले देखाएको अहिंसा, संयम र जनकल्याणको मार्गदर्शन परिपालन गर्न आग्रह पनि गरेका छन् ।साथै राष्ट्रपति पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने पनि उल्लेख गरेका छन् ।।
प्रतिक्रिया