सुदुरपश्चिमकाे मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी

कांग्रेसको समर्थनमा लक्ष्मण किशोर र एमाले–माओवादीको समर्थनमा कैलाशकुमारद्वारा दाबी पेश

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुई जना सांसद दाबी पेस गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदसमेतको समर्थनमा सांसद कैलाशकुमार चौधरीले प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।  यसअघि नागरिक उन्मुक्तिकै अर्का सांसद लक्ष्मणकिशोर चौधरीले कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नागरिक उन्मुक्तिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीपक्षबीच विवादका कारण एकै दलबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस भएको हो । मुख्यमन्त्रीमा दाबी पेस गर्नेमध्ये लक्ष्मणकिशोर संरक्षक रेशम पक्षधर सांसद हुन् भने कैलाशकुमार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् । अध्यक्ष श्रेष्ठका पक्षमा दुई र संरक्षक चौधरीका पक्षमा चार सांसद छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५१ सदस्य रहेका छन् । कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरीलाई केही दिनअघि उनकै पार्टीले पदमुक्त गराएको छ । सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ ।।
 

प्रतिक्रिया