नयाँवर्षमा देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर समझदारी बनाउनुपर्छः पूर्वराजा शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण अवस्था आएको उल्लेख गर्दै कसैलाई निषेध नगरी सही निष्कर्षमा पुग्न आह्वान गरेका छन् । नयाँवर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले अस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिदै गएको बताएका हुन् । उनले आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्था प्रति ध्यान केन्द्रित हुनु पर्छ भन्ने जनमत रहेको दाबी गरेका छन् । त्यसका लागि देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर समझदारी बनाउनुपर्ने उल्लेख गरेका छन् । विधि, व्यवस्था, शब्द र रुप जति बद्लिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको टिप्पणी गर्दै पूर्वराजा शाहले मूल राष्ट्रिय नीतिमा साझा धारणा र दृष्टिकोण बन्नुपर्नेमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको व्यवस्था खस्किदै जाँदा पनि राजनीतिक विधि विधानले आसा जगाउन नसक्नु राष्ट्रिय चिन्ताको विषय बनेको भन्दै पूर्वराजा शाहले अहिलेको अवस्थाको पुनरावलोकन गर्न र गम्भीर भएर सोच्न आग्रह समेत गरेका छन् । देशको बौद्धिक समाज उदासीन हँुदै जानु र युवा जनशक्ति पलायन हुँदै जानुले राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण अवस्था आएको पूर्वराजा शाहको सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया