लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री महराले आज विश्वासको मत लिदैं

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउसो एक बजे प्रदेश सभा बैठक बस्दैछ । । केन्द्रमा सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, जसपाले मात्रै होइन प्रदेशमा सहकार्य गरेको नाउपा र स्वतन्त्रका सांसदहरुले पहिले मन्त्रीको ग्यारेन्टी नभए विश्वासको मत दिन नसकिने शर्त तेर्साएका छन । महरा ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते शुक्रबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका महराले चैत २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए ।  महरालाई गठबन्धन दल एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ जना प्रदेशसभा सदस्यले समर्थन रहेको छ । मुख्यमन्त्रीसँगै विनाविभागीय मन्त्री बनेका एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र माओवादीका दीपेन्द्र पुनलाई अहिलेसम्म कुनै जिम्मेवारी तोकिएको छैन । मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र जिम्मेवारी प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया