छिटै वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउँदैछौँः वनमन्त्री सुडी

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताएका छन । आज काठमाडौंमा वनस्पति विभागको ६७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रश्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउनु रहेको बताएका हुन । मन्त्री सुडीले  जडिबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिनुपर्ने बताए । 
मन्त्री सुडीले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरु दिनप्रतिदिन संकटमा परिरहेको गुनासो गरे । बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवद्र्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौति रहेको उनको भनाइ छ । राष्ट्रिय वनस्पती उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समेत समय सापेक्ष रुपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेकोमा पनि मन्त्री सुडीले जोड दिए । उनले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पु¥याइ स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको दोहो¥याए । 
 

प्रतिक्रिया