बागमती नगरपालिका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीसवरुद्ध मुद्दा दायर गरेको हो ।  अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गरेको छ । प्रमुख थापा भरत ताल बनाएर चर्चामा आएका थिए ।  थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ । कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको देखिएको आरोपपत्रमा उल्लेख छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न मागदाबी गरेको छ । थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारिका राउतको नाममा समेत राखेको भन्दै अख्तियारले जफत गर्न माग गरेको छ । 
 

प्रतिक्रिया