राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

नेकपा एमालेकी सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छिन । आज राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा बहुमत भएकाले उनी निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका हुन । एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनुभएकी घिमिरेको पक्षमा ३९ मत परेको थियो भने काँग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गरेकी थिइन । बैठकमा ५५ जना सांसदहरुको उपस्थिति रहेको थियो । गत चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएभएपछि सो पद रिक्त भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक चैत्र ३० गते शुक्रवार बोलाइएको छ । 
 

प्रतिक्रिया