राष्ट्रिय सभा उपाध्यक्षका निर्वाचन आज, एमालेकी घिमिरे बिजयी हुने लगभग निश्चित

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्तारूढ दलहरूले कपिलवस्तुकी नेकपा एमालेकी सांसद विमला घिमिरेलाई अघि सारेका छन् । आज बस्ने राष्ट्रिय सभा बैठकमा सांसद् भगवती न्यौपानेलाई निर्वाचित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यस्तै, राष्ट्रिय सभा उपाध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंकी विष्णुदेवी पुडासैनीलाई अघि सारेको छ ।उनलाई निर्वाचित गरियोस् भनेर दुर्गा गुरूङले प्रस्ताव प्रस्तुत गर्नेछिन् ।संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् । राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । नेकपा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमाले का १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक÷एक तथा दुई जना मनोनीत सदस्य छन् । सत्ता गठबन्धनमा नेकपा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको छ । गठबन्धनमा सहभागी दलको ३७ मत छ । जुन बहुमतका लागि पर्याप्त हुने छ ।। 
 

प्रतिक्रिया