सुनसरीको वराहक्षेत्र चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै
काठमाडौं । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका एक चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्ने कार्यक्रम छ । महाकुम्भ मेला आज देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२÷१२ वर्षको अवधिमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाको रुपमा परिचित छ । कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी दुई हजार बढी सुरक्षाकर्मीहरू खटाइएको छ । मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भण्डारा, बसपार्क लगायतको व्यवस्था गरिएको छ । भक्तजनका लागि खाने, बस्ने र बिरामी हुँदा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया