सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तक पुग्यो

काठमाडौं । कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताव नपाउने बाध्यता व्यहोरेका विद्यार्थीरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन् । स्रोत, साधन र जनशक्ति अभावको समस्यालाई सरकारले समाधान गरेपछि यसपटक विद्यालयहरूमा समय अगावै पुस्तक पुग्ने जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश कार्यालयले जनाएको छ ।
हालसम्म कोशीमा आवश्यक कुल १६ लाख किताबमध्ये सात लाख ५० हजार पुस्तक बिक्री वितरण भइसकेको छ । चैत मसान्तसम्ममा प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा मागबमोजिमको पाठ्यपुस्तक पुगिसक्ने केन्द्रको दाबी छ । विगतका वर्षहरूको तुलनामा यसपालि पाठ्पुस्तक पाउन निकै सहज भएको पुस्तक व्यावसायीहरू बताउँछन् ।
यस वर्ष चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री–वितरण थालिएकोमा प्रदेशका १४ मध्ये १२ वटा जिल्लामा पुस्तक पुगिसकेको छ । पहाडी जिल्लामा पठाइसकेकाले अब तराईका जिल्लामा पनि पठाउने काम भइरहेको केन्द्रले जनाएको छ । कोशी प्रदेशमा जम्मा ६ हजार ७७३ वटा सामुदायिक विद्यालय छन् । जसमा करिव पाँच लाख विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया