बैशाख पन्ध्र गते हुने उपनिर्वाचनका लागि आज उमेदवारको नामावली प्रकाशन हुँदै

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज उजुरीमाथि जाँचबुझ गरिने भएको छ । उपनिर्वाचनमा उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजरीमाथि निर्वाचन आयोगले छानबिन गर्ने कार्यतालिका छ ।  आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो । आज बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।  आज बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते (भोलि) बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । इलाम क्षेत्र नम्बर २ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा विभिन्न दलबाट १२ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया