प्रमुख घिमिरेले आज प्रमुख चार दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई प्रमुख प्रतिपक्षको मागबारे छलफल गर्न बोलाएका छन् ।  सभामुखले आज बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन ।सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन । छलफलमा  प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ । गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते मंगलबार बोलाइएको छ । सत्तारुढ दलले कांग्रेसको माग अनुसार समिति गठन नहुने बताउँदै आएका छन् । कांग्रेसले विगत एक महिनायता निरन्तर लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ ।  यसैबिच सरकारले यही साता हिउँदे अधिवेशन अन्त्य गर्नै तयारी गरेको छ । स्रोतका अनुसार आगामी बिहीबारको मन्त्रिपरिषद् बैठकमार्फत हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी छ । जेठ १५ मा बजेट पेस गर्नुपर्ने भएकाले सो अगावै वर्षे अधिवेशन आह्वान हुनेछ ।

प्रतिक्रिया