लुम्बिनीका मुख्यमन्त्री महराले आज शपथ लिदै

काठमाडौं । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आज हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे शपथग्रहणको कार्यक्रम राखिएको छ । आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बनाउने भएका छन् । बहुमत पु¥याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ । जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने दलविच सहमति छ । जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिनेसम्मको सहमति भएको छ । यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ । लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित दशवटा मन्त्रालय छन् । एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनितिक दललाई दिनेगरी तयारी गरेको बताइएको छ । केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया