इलाम र बझाङको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं । वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारले आज मनोनयन दर्ता गर्दै छन् । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ । आज साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने आयोगले जनाएको छ । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरिएको छ। अपराह्न ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे जाँच गरी निर्णय गर्नेछ । चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ । प्रतिनिधिसभा इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ को एकमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार टुंगो लगाइसकेका छन । नेकपा एमालेले इलाममा सुहाङ नेम्बाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले डम्बरबहादुर खड्का र बझाङमा अभिषेक उम्मेदवारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा मिलन लिम्बूलाई टिकट दिएको छ भने राप्रपाले लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा माओवादीले इलाममा एमाले उम्मेदवारलाई सघाउने जनाएको छ । इलाम जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ का लागि ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण भएका छन । यसैगरी बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया