भारतसँग हार्दिकतासाथ छलफल चाहेको परराष्ट्रमन्त्री श्रेष्ठको भनाइ

काठमाडौं । उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चीनजस्तै भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहेको बताएका छन । आजको प्रतिनिधिसभा बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी दिदै उनले उत्तरी छिमेकी जस्तै गम्भीर प्रकारले हार्दिकताका साथ छलफल चाहेको बताएका हुन । परराष्ट्रमन्त्री श्रेष्ठले भारतमा चुनाव हुन लागेकाले तत्काल उच्चस्तरको भ्रमण नहुने समेत बताए । 
उपप्रधानमन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा कायम गर्दै छिमेकी देशहरूसँग पारस्परिक सम्मान र लाभको आधारमा दुई पक्षीय सम्बन्ध सदृृढ गर्न सरकार सक्रिय रहेको बताए । भारतसँगको छलफल परम्परागत असल मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नेपालको आर्थिक विकासलाई सहयोग पु¥याउने गरी अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । नेपाल भारत सम्बन्धमा इतिहासले छाडेका कतिपय विषय रहेको भन्दै मन्त्री श्रेष्ठले यसको कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताए । राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौम समानताको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ परराष्ट्र नीति तथा कूटनीतिक सञ्चालन भइरहेको पनि मन्त्री श्रेष्ठले बताए । उनले चीन भ्रमणका क्रममा परम्परागत १४ नाका तुरुन्त खोल्न लगायत सहमति भएको जानकारी दिए । नेपाल र चीनका परारष्ट्रमन्त्री स्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको उनको भनाइ छ ।

प्रतिक्रिया