व्यापारी रामहरि श्रेष्ठकोहत्या अभियोगमा फरार माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाडौं । माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त खाम ठमेलबाट पक्राउ परेका हुन् । यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका लडाकू कमाण्डर गोविन्दबहादुर बटाला भने अदालतबाट सफाइ पाएपछि रिहा भएका थिए । खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकूका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । २०६५ सालमा व्यापारी रामहरी श्रेष्ठको अपहरणपछि हत्या भएको थियो । २०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो । २०६५ वैशाख १५ गते श्रेष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए । त्यतिबेला श्रेष्ठलाई चितवनस्थित माओवादी लडाकुको शक्तिखोर शिविरमा पुर्याइएको थियो । श्रेष्ठको घरमा जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो । उक्त कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ नगद र हतियार चोरी भएको भन्दै श्रेष्ठलाई खामको समूहले अपहरण गरेको थियो । शक्तिखोर शिविरबाट मारिएका रामहरी श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले खाम र गोविन्द बहादुर बटालासहितविरुद्ध २०६५ जेठ ८ गते किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया