सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुनः संरचना गर्न चाहेको सञ्चारमन्त्री शर्माको भनाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताएकी छिन । आज सिंहदरबारमा रेडियो नेपालको ७४ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयक अघि बढाइएको जानकारी दिएकी हुन । मन्त्री शर्माले विगतमा जस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई सरकारको प्रचारकको रुपमा मात्रै नभइ जनताको आवाज सरकारसमक्ष पु¥याउने माध्यमका रुपमा विकास गर्न आवश्यक रहेको पनि उल्लेख गरिन ।
मन्त्री शर्माले आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर आम सञ्चारको क्षेत्रमा कानून निर्माणमा जोड दिएको पनि उल्लेख  गरिन । हाल संसदमा रहेको सार्वजनिक सेवा प्रशारण विधेयक पारित भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रशारणमा रुपान्तरण हुने भन्दै अहिलेदेखि नै तयारी थाल्नुपर्ने आवश्यकता समेत उनले औल्याइन । मन्त्री शर्माले लोकतन्त्रका उपलब्धीको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको आवश्यकता भएको पनि स्पष्ट पारिन । संविधानको मर्मअनुरुप धेरै जनपक्षिय र प्रगतिशिल कानून निर्माण गरेको तर कार्यान्वयन फितलो भएको भन्दै हरेक क्षेत्रमा अर्थपूर्ण समावेशी सहभागिता आवश्यक रहेको उनको भनाइ थियो । 

प्रतिक्रिया