कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिदै

काठमाडौं । नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी नेपाली काँग्रेसले फागुन २२ गते समर्थन फिर्ता लिएको थियो । काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले शर्माले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सत्ता गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको भन्दै विवाद पनि भएको छ । माओवादीले नेतृत्व गरिरहेको कर्णालीमा एमालेले मुख्यमन्त्री दाबी गरेपछि माओवादीभित्रै मतभेद बढेको छ ।माओवादी पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई नछाड्न प्रधानमन्त्री एवं अध्यक्ष दाहाललाई दबाब समेत दिएका थिए । चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् । 
 

प्रतिक्रिया