त्रिभुवन विमानस्थलको उत्तरी बिन्दूबाट आजदेखि जहाज अवतरण गर्न नपाइने
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी बिन्दूबाट जहाज अवतरण गर्न नपाइने भएको छ । एक मात्र धावनमार्ग रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि दुवै बिन्दूबाट जहाज अवतरण हुँदै आएकोमा अब तीन महिनाका लागि उत्तरी बिन्दूबाट अवतरण गर्न नपाइने भएको हो । उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेकाले आजदेखि तीन महिनालाई उत्तरी विन्दुबाट जहाज अवतरण गर्न रोक लगाइएको हो । विमानस्थलभित्र पूर्वाधार निर्माणका काम भइरहेकाले उत्तरबाट जहाज अतरण रोकिएको हो । उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेको हो । तीन महिनाभित्र यो काम सकिने लक्ष्य विमानस्थल राखेको छ । त्यसपछि काठमाडौं विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि हुने भएको छ । काठमाडौं विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर छ । उत्तरबाट अवतरण÷उडान गर्न नपाइने र पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले चालकदलले जहाजलाई उत्तरतर्फको अल्फा ट्याक्सी–वेबाट माथि जहाज लैजान नपाउने विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं विमानस्थलले वार्षिक १ करोड यात्रुलाई सेवा दिलाउने उद्देश्यले सन् २०१६ को एसियाली विकास बैंकको गुरुयोजनाअनुसार, निर्माणका काम भइरहेका छन् । गुरुयोजना अनुसार विमानस्थलको स्तरोन्नतिको काम गर्न १५ अर्ब रुपैयाँ लागतमा तीन फरक–फरक कम्पनीले काम गर्दै आएका छन ।
प्रतिक्रिया