सहकारी ठगीबारे संसदीय छानबिन गर्नुपर्ने कांग्रेस अडान यथावत

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद सञ्जय गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा दिएका अभिव्यक्तिले संशय पैदा गरेको बताएका हुन ।  उनले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न उठेको बताए । 
सांसद गौतमले प्रधानमन्त्रीले ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई जोगाएर सुशासनको कुरा गरिरहेको पनि बताए । प्रधानमन्त्रीको जवाफ र प्रहरी प्रमुखको जवाफ र विकसित घटनाक्रमहरूले संशय पैदा भएका छन् कि यसको न्याय निरुपण कसरी हुन्छ ? भन्ने उनको प्रश्न थियो । प्रधानमन्त्रीले ठूलो माछाको छानबिन गर्छु भन्ने अनि ठूलो माछा काखीमा च्यापेर साना माछाको मात्रै खोजी गर्ने कुरा प्रतिबद्धता देखाएर मात्रै नपुग्ने उनको भनाइ थियो । प्रधानमन्त्री र प्रहरी प्रमुखले सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिन खोजेको भन्दै उनले असन्तुष्टि जनाए । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगीको गम्भीरतापूर्वक छानबिन भइरहेको भनेको अवस्थामा त्यो रोकिएको र छानबिनको दायरामा रहेका व्यक्ति नै गृहमन्त्री भएको गौतमले बताए ।गोरखा मिडिया नेटवर्कमा पोखरा, बुटवल र चितवनलमा रहेका सहकारीबाट ९० करोड रकम ल्याएको पनि गौतमले दाबी गरे । कांग्रेसले सहकारी ठगीको कुरा जनतामा लाने र सरकारले माग नसुने संसद् अवरोध गर्न पनि बाध्य हुने गौतमको भनाइ थियो । 
 

प्रतिक्रिया