न्याय क्षेत्रमा महिलाको सारभूत प्रतिनिधित्व अपरिहार्य छ: प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरुको सारभुत प्रतिनिधित्व अपरिहार्य रहेको बताएका छन । आजबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा महिलाहरुको सारभुत प्रतिनिधित्वको विषय दिगो विकासका लक्ष्य हासिल गर्ने तथा लोकतन्त्र, विधिको शासन, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्वपूर्ण आधार हुने बताएका हुन । प्रधानन्यायाधीश श्रेष्ठले न्याय क्षेत्रमा महिलाको सहभागिताले समावेशी पारदर्शीता र न्यायिक सदाचारको प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । 
प्रधानन्यायाधीस श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशहरुको उपस्थिति वा प्रतिनिधित्वको विषय संख्यामा मात्र नभइ मानव अधिकार तथा न्यायका मूल्य मान्यता र आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिवद्धता रहेको पनि बताए । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको गुनासो गरे । 
न्याय सम्पादनमा आएका कमीहरु पुनः सच्याइएको उदाहरण रहेको भन्दै मन्त्री गिरीले न्याय सम्पादन सधैँ सही नहुने बताए । कार्यक्रममा पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीले महिलाहरु न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको दाबी गरिन ।
पूर्व प्रधानन्यायाधीस कार्कीले न्यायालयमा संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको उल्लेख गरिन । आजबाट शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ । 

प्रतिक्रिया