पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न आवश्यक पल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । कास्की जिल्लाको पोखरा शहरलाई पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा भएको छ । आईतवार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन । सो क्रममा प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न सरकारले संवद्ध पक्षसँग आवश्यक पहल तथा समन्वय गर्ने प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री दाहालले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थलको खर्चबारे पनि नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प समेत गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा अवदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्ने जानकारी दिए ।
आइतबार साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने उनले बताए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शिर्ष पर्यटीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुकै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।
पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेश सरकार, स्थानीय तहको नीतिहरु पर्यटन क्षेत्रको विकासमा हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया