एकैदिन देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान


काठमाडौ । देशका आठ सय ५० ठाउँमा एकैदिन डढेलोका घटना भएको पाइएको छ । शुक्रवार राति साढे आठ बजेदेखि गएराति साढे ८ बजेसम्मको चौबीस घण्टाको स्याटलाइट तस्बिर अनुगमनबाट आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको वन डढेलोको अनुगमन गर्दै आएको संस्था नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टरले जनाएको छ । ५९ वटा जिल्लामा डढेलोका घटना सार्वजनिक भएकोमा सबैभन्दा धेरै उदयपुरका ६५ ठाउँमा डढेलो लागेको छ । यस्तै ताप्लेजुङको ६०, सप्तरीमा ५९, तेह्रथुममा ४४, काभ्रेका ३८ र भोजपुर तथा धनुषाका ३५–३५ ठाउँमा डढेलो पहिचान भएको छ । बिहीवारदेखि शुक्रवार बेलुकासम्मको चौबीस घण्टामा देशमा आठ सय १३ ठाउँमा डढेलो पहिचान भएको थियो । नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा धेरै मध्य फागुनदेखि मध्य वैशाखसम्म हुने गरेको छ । लामो खडेरी, उच्च गतिको हावाहुरी र धेरै गर्मीका कारण यो अवधिमा डढेलोको उच्च जोखिम हुने गर्दछ । नेपालमा हुने डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण र १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा वन डढेलोका घटना तेब्बरले बढेका छन । नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको तथ्याकंले देखाएको छ । जसबाट वर्षको दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने गरेको छ ।। 
 

प्रतिक्रिया