मन्त्रीलाई सघाउन विज्ञ समूह बनाउने रास्वपाको निर्णय

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको छ । पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिको आइतबार बिहान बसेको बैठकले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको हो ।  समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले सरुवा, बढुवा वा नियुक्तिमा अनियमितता गर्नेहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय समेत गरेको छ । राजनीतिक नियुक्तिमा क्षमतालाई प्रधान मान्ने लगायतका निर्णय समेत गरेका रास्वपाले जनाएको छ । मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा. स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री मुलुक ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रीको जिम्मेबारीमा छन ।

प्रतिक्रिया