कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्रीमाथि विभिन्न प्रश्नहरु उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन । लामिछाने आफूमाथि प्रश्न बोकेर गृहमन्त्री हुन नहुने भन्दै सांसद पौडेलले प्रधानमन्त्रीले पनि  प्रश्न उठेको मानिसलाई गृहमन्त्री बनाउनु नहुने उल्लेख गरे । 
सांसद पौडेलले हाल ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता रहेको उल्लेख गर्दै सहकारी पीडितहरुले आफ्नो बचत फिर्ताको माग गरिरहेका बताए । अनुसन्धानको घेराभित्रै रहेका गृहमन्त्रीले सहकारी पीडितहरुको माग कसरी सम्बोधन गर्नसक्छन भनेर उनले प्रश्न समेत गरे । पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई समाधान गर्न नसक्ने उनको भनाई छ । सांसद पौडेलले गृहमन्त्रीकै मातहतमा रहेको प्रहरीले सुन प्रकरणमा राजनीतिक मान्छेलाई छानवीनको दायरामा ल्याउन नसकेको भन्दै गृहमन्त्रीमाथि पनि प्रश्न उठाए । उनले प्रश्नै प्रश्नले घेरिएका मान्छेको बिचमा बसेर प्रधानमन्त्रीले सुशासन कायम गर्न नसक्ने बताए । सांसद पौडेलले संसदमा उठेको प्रश्नको सामना गर्नुको साटो प्रधानमन्त्री भागेर हिडेको आरोप समेत लगाए ।

प्रतिक्रिया