इपिएस मार्फत जाने नेपाली श्रमिकको कोटामा थप, यस वर्ष २२ हजार रोजगारीको अबसर

दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली इपिएस मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरेको छ । दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२ प्रतिशत थप गरेको हो । नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने भएकाले यसअघिको कोटा बढाएको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ । विगतका वर्षभन्दा सन् २०२४ मा अझ बढी सङ्ख्यामा नेपाली श्रमिक दक्षिण कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ । कोरियाबाट आएका दुई वटा पत्रको आशय हेर्दा यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने देखिएको छ ।   विदेशी श्रमिक माग गर्दै आएका १६ देशको तुलनामा नेपालले श्रमिक छनोटको प्रक्रिया छिटोछरितो गरेको भनेर यो वर्ष कोटा थप भएको हो । कोरियाले भाषा परीक्षामा सहभागीको सङ्ख्या बढ्दै गएर परीक्षा समयमा नसकिने अवस्थालाई सुधार गर्न वैकल्पिक व्यवस्थापन गर्न अनुरोध समेत गरेको छ । कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकामा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा समेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ । हाल उत्पादन, कृषि तथा पशुपालन र सिप बिल्डिङ क्षेत्रको रोस्टरमा रहेकालाई समेत वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा लैजाने योजना रहेका कारण पास भएका सबै युवा कोरिया प्रवेश गर्न सक्ने सम्भावना बढेको छ । यसअघि रुट इन्डस्ट्री क्षेत्र अन्तर्गत रोस्टरमा रहेकामध्ये ३० जना छनोट गरेकामा तीन जना कोरिया प्रवेश गरिसकेका छन् । हाल रुट इन्डस्ट्री क्षेत्र अन्तर्गत वेल्डिङमा पाइलटका रूपमा श्रमिक माग गरिएको छ । रुट इन्डस्ट्री क्षेत्रका उपक्षेत्र थप गरी अझ बढी कामदार लैजाने योजना कोरियाको छ ।। 

प्रतिक्रिया