सत्ता गठबन्धनका दलहरुले आज साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

सत्ता गठबन्धन दलहरुले आफ्नो साझा नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न गठबन्धनको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको हो । गठबन्धनका पाँच दलका शीर्ष नेता सहभागि भएर कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । गठबन्धनको नीति तथा कार्यक्रममा मुलुकमा तत्काल गर्नुपर्ने, अल्पकालीन र दीर्घकालमा गरिने कार्यक्रमको योजना हुने छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै नीति तथा कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल भएको थियो । गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र निर्माण गरेको हो । कार्यदलमा एमालेबाट विष्णुप्रसाद पौडेल, विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, अर्का उपमहासचिव जनार्दन शर्मा छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल छन् । यसैगरी जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिस सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल कार्यदलमा छन् । 

प्रतिक्रिया