राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि आज राष्ट्रिय सभामा भएको निर्वाचनमा दाहाल निर्वाचित भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा भएको निर्वाचनमा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको थियो । 
राष्ट्रिय सभाका अध्यक्ष बनेका दाहाल माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हुन् । उनी २०३६ सालदेखि पार्टी राजनीतिमा सक्रिय छन् । २०६३ मा अन्तरिम संसद्का सदस्य उनी २०६४ सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र–३ बाट विजयी भएका थिए । २०७० को निर्वाचनमा भने उनी पराजित भएका थिए । त्यसपछि उनी कांग्रेस– माओवादी सरकारको सिफारिसमा मनोनित कोटाबाट २०७८ फागुन २५ गते राष्ट्रिय सभा सदस्य बनेका हुन् । यसअघि संसदमा यस्तै नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माको प्रस्ताव भने अस्वीकृत भएको छ । उनको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ । मतदान प्रक्रियामा ५६ जना सदस्य सहभागी थिए । पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ बनेको सत्ता गठबन्धनले अध्यक्षको निर्वाचनमा माओवादीका दाहालदाई समर्थन गरेको थियो । दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो । जनमोर्चाले भने निर्वाचन प्रक्रियामा भाग लिएन ।

प्रतिक्रिया