राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने निर्णयपनि गरेको छ । उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण फेर्नुअघि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्षमा ल्याउने कांग्रेसको तयारी थियो । तर, अहिले प्रचण्डले कांग्रेसबाट पटक पटक घात भएको निष्कर्षसहित गठबन्धन फेरेपछि सिटौलाको सम्भावना टुंगिएको छ । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि अध्यक्ष खाली रहेको छ । नयाँ गठबन्धन बनेपछि राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले पाउने सहमति भईसकेको छ । राष्ट्रिय सभामा वर्तमान सत्ता गठबन्धनको बहुमत रहेको छ । माओवादी केन्द्र राष्ट्रिय सभाको ठूलो पार्टी हो । माओवादीका राष्ट्रिय सभामा उपाध्यक्षसहित १७ सांसद छन् । राष्ट्रिय सभामा मनोनित नारायणप्रसाद दाहाल पनि माओवादीका नेता हुन् । त्यस्तै, वर्तमान सत्ता गठबन्धनमा रहेका एमालेका १०, एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टीका ३ सांसद छन् ।

प्रतिक्रिया