सत्ता गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट छैनः समाजवादीका नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट नभएको बताएका छन् । आज एक विज्ञप्ती सार्वजनिक गर्दै उनले वाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु सकारात्मक भएको भन्दै उनले अव देशमा विद्यमान समस्या समाधानमा एक जुट भएर लाग्नुपर्ने बताएका हुन । जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिबिम्बित गर्दै बाम लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेकोले यो सरकारमा आफ्नो पार्टी पनि सहभागी बनेको उनको भनाइ छ । नयाँ सरकार बन्दा आमजनतामा नयाँ आशाको सञ्चार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएको उनले उल्लेख गरेका छन । नेता खनालले गठबन्धनको सरकारलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागेको टिप्पणी समेत गरेका छन । उनले नयाँ गठबन्धन भत्काउन विभिन्न पार्टीमा तानाबाना बुनिँदै गरेको दाबी गरेका छन् । चुनौती बढे पनि यसले वर्तमान गठबन्धनलाई अझ एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत गर्ने उनको तर्क छ । सरकारलाई जनताको अवस्था परिवर्तन गर्ने गरी काम गर्न उनको सुझाव छ । जनताको गुनासो सम्बोधनका लागि सरकारले श्रमजीवी, भूमिहीन, गरीब र सुकुमबासी जनताका समस्याहरू समाधान गर्न भूमिसुधार गर्नुपर्ने, कृषि उत्पादनलाई व्यापक बनाउने, कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई राष्ट्रिय औद्योगिकरणको दिशामा अघि बढाउनुपर्ने उनले सुझाव दिएका हुन ।। 
 

प्रतिक्रिया